धन भन्दा विद्या ठुलो भन्ने शिक्षकले तलब बृद्धिको माग राख्दा विरोध गर्नेहरुको लागी सन्देश

 धनभन्दा विद्या ठूलो भन्ने शिक्षकले तलब बृद्धिको माग राखेको भन्दै विरोध गर्ने विद्धान वर्गकोलागी स- प्रेम सन्देश सहित मेरो विचार 

     आदरणिय सम्पूर्णमा नमस्कार 🙏

      हामी शिक्षकले त सधैं पढाउँदै आएका हौं धनभन्दा विद्या ठूलो हो भनेर , आज पनि त्यो कुरो हाम्रो आत्मामा बसिसकेको छ। तर प्रश्न यत्ति हो , विद्याको मूल्य के सस्तो श्रम र अपमानपूर्ण व्यवहारले तोकिने हो? हामीले “धनभन्दा विद्या ठूलो हो” भनेर विद्यार्थीलाई शिक्षाको महत्व बुझाएका थियौं, तर त्यसको अर्थ शिक्षक धनविहीन, असहाय र अपहेलित बाँच्नुपर्ने भन्ने होइन।  विद्या ठूलो हो, तर विद्या बाँड्ने हात यदि निसाहारा बनाइन्छ भने त्यो समाजमा विद्या साँचो अर्थमा फैलन सक्दैन। जब शिक्षकको तलब सम्मानजनक हुँदैन, उसले घर खर्च चलाउन धौधौ पर्छ, तब उसको ध्यान पढाइ होइन, जिउनकै संघर्षमा केन्द्रित हुन्छ। यस्तो अवस्थामा सिकाइको गुणस्तर कसरी सम्भव हुन्छ? विद्यार्थीको भविष्यको ग्यारेन्टी तब मात्र हुन सक्छ, जब शिक्षकको वर्तमान सुरक्षित छ।      हामीले तलब बढाउने मात्र होइन, शिक्षकलाई गरिमा दिने नीति र व्यवहारको माग गरेका हौं। यो व्यक्तिगत लाभको माग होइन, यो सिङ्गो शिक्षाको अस्तित्व र भविष्यको लडाइँ हो। हामी त चाहन्छौं  शिक्षण पेशा यति मर्यादित बनोस् कि कुनै विद्यार्थीले “शिक्षक बन्नेछु” भनेर गर्वका साथ सपना देखोस्। त्यसका लागि शिक्षकलाई गरिमा, संरक्षण र प्रोत्साहन आवश्यक छ।  तलब माग्नु लोभ होइन त्यो त पेशागत अधिकार हो। स्वास्थ्यकर्मीको सेवा, सुरक्षाकर्मीको जोखिम वा न्यायाधीशको फैसला जत्तिकै शिक्षकको शिक्षण पनि राष्ट्र निर्माणको मूल आधार हो। तर ती सबै पेशामा काम गर्नेले उचित पारिश्रमिक पाउँछन् भने, शिक्षकले माग गर्दा किन आलोचना? हामी आन्दोलनमा छौं किनकि हामी पढाउने थलो झन् मजबुत बनाउन चाहन्छौं। शिक्षाको मूल्य कम हुँदैन भनेर पढाउने शिक्षकको श्रमको मूल्य पनि कम हुनुहुन्न। विद्या ठूलो हो, तर विद्यादाता अपमानित हुँदाको मूल्य देशले चुकाउने हो। त्यसैले हामी बोलेका छौं आफ्नो लागि मात्र होइन, तपाईंका सन्तान र सिङ्गो राष्ट्रको लागि।

     शिक्षा कुनै नीति नभएर राष्ट्रको मेरुदण्ड हो भन्ने बुझ्न हामी कहिले सक्ने? देश संघीय भयो, सरकारहरू परिवर्तन भए, शक्ति विकेन्द्रित भयो, तर शिक्षा क्षेत्रमा चाहिँ आधारभूत कानुन नै बन्न सकेन। संघीयताको नाममा अधिकार त बाँडियो, तर शिक्षाको आत्मा बुझेको कोही छैन। ऐन विना संविधानको भावना अधुरो हुन्छ भन्ने कुरा सत्ता चलाउनेहरू कहिले बुझ्ने? आज हामी शिक्षक सडकमा उभिएका छौँ। हाम्रो स्वरमा रोष छ, आक्रोश छैन। हामी पढाउने चाहना छाडेका होइनौँ, हामी न्याय खोज्दै छौँ। तर यस आवाजलाई पनि राजनीतिक रंग दिइन्छ, हामीलाई गाली गरिन्छ। हाम्रो सवाल सिधा छ — शिक्षा ऐन बिना हामी को? के? र किन?

     शिक्षकहरू अनिश्चित भविष्य बोकेर काम गरिरहेका छन्। स्थायित्व छैन, सरुवा–बढुवामा पारदर्शिता छैन, नीति छ भन्नु मात्र छ — व्यवहारमा केही छैन। यस्तो अवस्थाले शिक्षकको मनोबल मात्र होइन, शिक्षाको गुणस्तर नै ध्वस्त बनाउँछ। जब शिक्षक असुरक्षित महसुस गर्छ, तब पढाइ आत्मा नभएको शरीरजस्तै बन्छ। अभिभावकहरू सरकारलाई भन्दा बढी हामी शिक्षकलाई दोष दिन थाल्नुभएको छ। तर हामी शिक्षकले त तपाईंका सन्तानलाई आफ्नो सन्तानझैँ माया गरेर पढाएका हौँ, आज पनि पढाउन चाहन्छौँ। हामीले पढाएको ज्ञानले तपाईंका छोराछोरी विदेश पुगेर नाम बनाउँछन्, तर हामी आफैँ आफ्नै गाउँमा अपहेलित महसुस गर्दैछौँ।विद्यार्थीको हालत झन् कमजोर हुँदैछ। शिक्षकको निरन्तरता नभएको कक्षा कोठाले बाल मनोविज्ञान नबुझ्ने शून्यता सिर्जना गर्छ। उनीहरूको सपना शिक्षा नीति नभएको देशमा भासिन्छ। जब नीति नै छैन, तब परिवर्तनको आधार कसरी बन्न सक्छ? देशको समृद्धि त शिक्षित, सचेत र सक्षम नागरिकको उत्पादनमा निर्भर हुन्छ, जुन शिक्षा ऐनविना सम्भव छैन।र अन्ततः, राष्ट्र नै दिशाहीन बन्दछ। शिक्षाको मूलधार नबुझी बनाइएका विकासका नाराहरू खोक्रा साबित हुन्छन्। संघीयताको अर्थ शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने मात्र होइन, स्पष्ट ऐनद्वारा जिम्मेवारी, अधिकार र जवाफदेहिता तय गर्नु हो। त्यो नभएसम्म शिक्षा प्रणाली विकृतिबाट उन्मुक्त हुन सक्दैन। शिक्षा ऐन विना राष्ट्र उभिन सक्दैन। शिक्षकको स्वर दबाएर होइन, सुनेर मात्र भविष्य निर्माण सम्भव छ। यो आन्दोलन हाम्रो अधिकारको लडाइँ हो, तर अन्ततः तपाईंका छोराछोरीको उज्यालो भविष्यका लागि हो। हामी अझै शिक्षक हौँ — शिक्षालयमा फर्कन आतुर, तर आत्मसम्मानसहित।

              आजको शिक्षा प्रणालीको ठूलो विसङ्गति के हो भने, शिक्षण पेशामा लाग्न चाहने योग्य र दक्ष युवाहरू हतास हुँदै विदेशिने बाटो रोज्न बाध्य छन्। शिक्षालाई सेवा होइन, सजायझैं व्यवहार गरिँदा अब युवाहरू यो पेशातर्फ आकर्षित हुने प्रेरणा हराउँदै गएको छ। राष्ट्रभक्त, दक्ष र प्रतिभाशाली युवाले “शिक्षक बन्ने” सपना देख्न छोडेका छन्, किनभने यहाँ आत्मसम्मान छैन, भविष्यको ग्यारेन्टी छैन, र श्रमको मूल्य छैन। यस्तो अवस्था रहेसम्म शिक्षाको गुणस्तर उकासिने छैन र राष्ट्रले पनि आगामी पुस्ताका लागि शिक्षित समाजको सपना देख्न पाउने छैन। हामी चाहन्छौं — शिक्षक बन्नु गौरव हो भन्ने विश्वास बोकेका युवाहरू यही भूमिमा, यही पेशामा गर्वका साथ टिकून्। देश शिक्षाबाट बनिन्छ, र शिक्षकबाट शिक्षाको सम्भावना जन्मिन्छ।

                    धन्यवाद , शिक्षक एकता जिन्दाबाद 

    ✍️    राममणी अर्याल 
            प्रावि स्थायी शिक्षक 
         श्री लेकाली बसीफाँट मावि , 
          भीमफेदी - ९ , मकवानपुर 





Comments

Popular posts from this blog

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ?

सम्बन्ध